
पूर्वआइजीपी सर्वेन्द्र खनाल प्रतिनिधि सभा चुनाव लड्ने भएका छन् । खनाल काठमाडौं क्षेत्र नं ६ का स्थायी बासिन्दा हुन् । उनको जन्मथलो भने तनहुँ हो । तराईको बारा र चितवनमा पनि उनको सक्रियता देखिन्छ ।
यीमध्ये कुनै जिल्लाको चुनावी क्षेत्रमा उनी उम्मेदवार बन्ने सम्भावना रहेको बुझिएको छ । तर खनालले आफू अबको निर्वाचनमा एमालेबाट सांसदको उमेदवार बन्ने तयरीमा रहेको आफू निकटहरूसँग बताउने गरेका छन्। खनालले एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ताहरूसँग अनौपचारिका छलफल समेत चलाएका छन्।
खनाललाई पार्टीमा भित्राउन नेकपा एमालेका केही नेताहरुले प्रयास गरिरहेका छन् । तर, उनले निर्णय नदिएको बुझिएको छ । खनालले भने उचित समयमा उचित निर्णय लिने जवाफ दिइरहेका छन् । नेपाल प्रहरीको आइजीपीको रुपमा खनालले महत्वपूर्ण कार्यहरु गरेका थिए । उनी त्यतिबेला लोकप्रीय प्रहरी अधिकृतका रुपमा परिचित थिए ।
खनालको प्रहरी सेवायात्राखनाल २०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका थिए । सोहि ब्याजका हुन्, रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की लगायतक पनि । तर, कार्यक्षमता,कार्यसम्पादन मुल्याङ्कन र सिनियरिटीको आधारमा एक नम्वरमा रहेका खनाललाई सरकारले आईजीपी बनाएको थियो ।
नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो। मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सरकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो।
जनआन्दोलनमा काठमाडौंको प्रमुख हुँदा उनले निभाएको भूमिकाकै कारण पनि उनी प्रहरीको नेतृत्व सम्हाल्न सक्छन भन्ने प्रमाणित गरेको थियो । खनालको नेतृत्वमा मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर भएको थियो ।खनाल महानगरीय अपराध महाशाखामा आएपछि घैंटेको इन्काउन्टर भएको थियो ।
त्यतिबेला तत्कालिन फुटबल कप्तान सागर थापासहितका खेलाडीलाई उनकै अग्रसरतामा पक्राउ गरेर कारबाही गरिएको थियो । म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो । २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जित्यो ।
खेलको सौदाबाजी गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा उभ्याएको थियो ।