विपीनले पठाएको डमी क्यारेक्टर देखेर ‘एनिमल’ प्रोडक्सनले भन्यो- यति नै इनफ छ

काठमाडौं । अभिनेता विपीन कार्की केही समयपछि बलिउड सिनेमा ‘एनिमल’को छायांकनका लागि मुम्बई जाँदैछन् । ‘एनिमल’को क्यारेक्टरमा विपीन यतिबेला केही तयारी गरिरहेका छन् । चलचित्रको काममै व्यस्त रहेकाले धेरै तयारी गर्न नपाए पनि चरित्र निर्माणमा केही तयारी भने उनले गरिरहेका छन् ।

“धेरै तयारी त मैले गर्न पाएको छैन । तर, सामान्य तयारी भने गरिरहेको छु,” उनले भने । केही दिन अगाडि मात्रै विपीनले ‘के घर के डेरा’को छायांकन र डविङ सकेका छन्। रामबाबु गुरुङको निर्देशन रहने चलचित्र ‘फूलबारी’को छायांकन अगाडि विपीन ‘एनिमल’का लागि मुम्बई जानेछन् । ‘एनिमल’ निर्माण युनिटसँग एग्रिमेन्टलगायत केही काम गरेर उनी फर्किनेछन् । र, छायांकनका लागि पुनः मुम्बई जानेछन् ।

‘एनिमल’मा उनलाई दिइएको स्क्रिप्ट र त्यसको चरित्र अनुसार उनले आफ्नो क्यारेक्टरको डमी भने पठाइसकेका छन् । “मैले मोबाइलमा खिचेर अडियोसहितको डमी पठाइसकेको छु ।

मैले सुटिङमा जाँदै गर्दा गाडीमै खिचेर पठाएको डमी भनेर पठाएको थिएँ,” विपीन भन्छन्, “यो र फाइल मात्रै हो यसलाई अझै राम्रो गर्न सकिन्छ भनेको थिएँ । त्यो हेर्नबित्तिकै प्रोडक्सनले यति नै इनफ हुन्छ भनेर तारिफ गर्यो ।”

विपीन आफूले बनाएको कन्सेप्टमा अझै धेरै ‘इनपुट’ दिने ठाउँ रहेको बताउँछन् । आफूले पाएको अवसरलाई पूर्ण सदुपयोेग गर्दै नेपाली कलाकारका लागि मुम्बईको ढोका खोल्न आफू प्रयासरत रहने उनी बताउँछन् ।

“मैले एनिमलमा राम्रो काम गर्न सकिनँ भने नेपाली कलाकारका लागि मुम्बईको ढोका बन्द हुनेछ,” विपीन भन्छन्, “त्यसैले मैले जसरी हुन्छ, राम्रो काम गरेर नेपाली कलाकार अब्बल रहेको प्रमाणित गर्नुपर्नेछ ।”

‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबिर सिंह’ निर्देशन गरेका सन्दिप रेड्डी भांगाले निर्देशन गरिरहेको चलचित्र ‘एनिमल’मा विपीन पनि मुख्य कलाकार मध्येका एक हुन् । ‘एनिमल’मा रनवीर कपुर, अनिल कपुर, बबी देओल र परिनीति चोपडाले अभिनय रहनेछ।