
काठमाडौ । बराह सहकारीपीडित संघर्ष समितिका प्रवक्ता प्रदीप बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले बुधबार उनलाई पक्राउ गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता बाँस्तोलाविरुद्ध आफ्नो कार्यालय तोडफोड तथा आफूविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीमा सोमबार जाहेरी दिएका थिए । प्रहरीले जिल्ला अदालत सुनसरीबाट मंगलबार पक्राउ अनुमति पाएपछि उनीहरूको खोजी सुरु गरेको थियो ।
बाँस्तोलालाई धरानबाटै प्रहरीले पक्राउ गरेको हो । संयोजक नेपालीलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार मेयर साम्पाङले राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको र सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको भनेर जाहेरी दिएका छन् ।
गत आइतबार बराह बचत तथा ऋण सहकारीको बचतकर्ताहरूको रकम हिनामिना भएको विषयमा छानबिन समितिको बैठकमा पीडितहरूलाई मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र ? भनेपछि पीडितहरू आक्रोशित भएका थिए ।
मेयर साम्पाङकै कारण आक्रोशित भिडले मेयर साम्पाङविरुद्ध नाराबाजी, गालीगलौजसँगै उहाँको कार्यकक्षको सिसा तोडफोड भएको थियो । आन्दोलनमा सयौँ व्यक्तिहरूको सहभागिता रहेको थियो ।
बराह सहकारीबाट मागेर खानेदेखि प्रहरी, चिकित्सक, गृहणी, भूपू सैनिक, पत्रकार, कर्मचारीलगायत पीडित छन् । १५ हजारदेखि ३ करोडसम्म बचत गरेको पैसा पीडितहरूले लिन पाएका छैनन् ।
बराह ऋण तथा बचत सहकारीले बचतकर्ताहरूले राखेको करिब ८ अर्ब रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले संघर्ष समिति बनाएका थिए । बराहबाट पीडित ८ सय ८८ सेयर सदस्यको रूपमा हिसाब देखाएको छ । पीडितमध्येकै ८ हजार ७०० भन्दा बढीलाई भने सेयर सदस्यमा समेत राखेका छन् ।सहकारीहरूले सेयर सदस्यहरूसँग मात्र कारोबार गर्न पाउँछन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****