नेपालीमै निकालियो पेट्रोलियम पदार्थ

दैलेख । दैलेखमा शुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ । जिल्लाका भूभागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो ।

पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्वेको काम अहिले तीव्र पारिएको छ । जिल्लाका विभिन्न भूभागमा साइस्मिक सर्वेको कार्य तीव्र पारिएसँगै छिट्टै सर्बेको निष्कर्ष आउने आशा गरिएको छ ।

चीन सरकार र नेपाल सरकारको संयुक्त विशेषज्ञ टोलिले पेट्रोलियम अन्वेषणका विभिन्न काम एकै साथ अगाडि बढाएका हुन् । विदेशमा पेट्रोलियम अन्वेषणका लागि काम गरेका अनुभवी नेपाली कामदार अहिले यो कार्यका लागि प्रयोग गरिएका छन् ।

अनुसन्धानका लागि अत्याधुनिक साधनसमेत ल्याइएको छ । साइस्मिक सर्वेअन्तर्गत जमीनभित्र तरङ्ग पठाउने काम शुरु गर्न थालिएको छ । विभिन्न चारवटा सर्वेमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्वेपछि त्यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान हुने भएको छ ।

नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलिय भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भूभागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमीनमुनि डिलिङ गर्ने काम शुरु गरिएको छ ।

सर्वेका लागि तयार पारिएका १० सर्कलमा अहिले १० समूह निर्माण गरेर ड्रिलिङको काम शुरु गरिएको छ । दशमध्ये एउटा सर्कलमा जमीनमुनि करिब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो । अन्य सर्कलमा उक्त कार्य तीव्ररुपमा अगाडि बढेको छ ।

जमीनमुनि तरङ्ग पठाएर तरङ्गको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने खानी तथा भूभर्वविद् एवं अन्वेषण कार्यका लागि खटिएका खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिनुभएको छ ।