यस्ता लक्षणलाई नगरौँ वेवास्ता, हुनसक्छ घाँटीको क्यान्सर

विश्व स्वास्थ्य संगठनको रिपोर्टले भन्छ, ‘प्रत्येक वर्ष औसत १ दशमलव ४ करोड व्यक्तिमा क्यान्सर देखिन्छ।’ यो विश्वको तथ्यांक हो । नेपालमा पनि यसको तथ्यांक भयावह छ । र, यसरी क्यान्सर हुनुमा खराब जीवनशैली, मोटोपनका साथै सुर्तीजन्य पदार्थको सेवन मूल कारण मानिएको छ ।

नेपालमा वर्षेनी ५० हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । ५० प्रतिशत मामलामा खराब जीवनशैली, मोटोपना ताथ सुर्तीजन्य पदार्थका कारण क्यान्सर हुने गर्छ । सुर्तीजन्य पदार्थ सेवनका कारण मुख तथा घाँटीको क्यान्सर हुने गर्छ । अहिले यस्तै प्रकृतिका क्यान्सर रोगी बढिरहेका छन्।

के हो घाँटीको क्यान्सर ?

जब शरीरको कोषिका असामान्य रुपमा फैलिन थाल्छ, तब क्यान्सर हुने गर्छ । क्यान्सर शरीरको विभिन्न अंगमा हुने गर्छ । जसमध्ये एक घाँटीको क्यान्सर पनि हो । घाँटीको क्यान्सर आवाज, भोकल कर्ड तथा मुखको विभिन्न भागमा हुने गर्छ ।

घाँटीको क्यान्सर दुई प्रकारको हुन्छ, फेरनजील क्यान्सर र लरेन्जियल क्यान्सर । फेरनजील क्यान्सर फेरनक्समा हुन्छ । फेरनक्स एक प्रकारको खाली नली हो, जसले अन्न नलीलाई नाक र मुखसित जोड्छ । जबकी लरेन्जियल क्यान्सर लेरीनक्स (स्वरग्रन्थि वा भ्वाइस वक्स)मा हुन्छ ।

कसलाई हुन्छ ?

पहिले पहिले उमेर पुगेका मानिसलाई मात्र घाँटीको क्यान्सर हुन्थ्यो । अहिले २०/२५ वर्षका मानिसहरुलाई पनि मुख तथा घाँटीको क्यान्सर हुने गरेको छ । त्यसो त ४०/५० वर्ष उमेर समूहका मानिस यसको शिकार धेरै हुने गरेका छन्। सामान्यतया मानिसहरुले मुखको समस्यालाई नजरअन्दाज गर्छन्। जसले गर्दा उनीहरुमा यो क्यान्सर खतरनाक हुने गर्छ ।

कसरी थाहा पाउने ?

घाँटीको क्यान्सरको खासै लक्षण देखिदैन। र, यो प्रारम्भिक चरणमा भएमा यसको लक्षण शारीरक निदानबाट पनि पत्ता लगाउन सकिदैन । घाँटीको टिस्यूमा हुने जलन तथा घाँटीमा गाँठो हुनु यस क्यान्सरको एक मात्र संकेत हुन्छ ।

घाँटीको क्यान्सर भएमा यसको लक्षण रुघाखोकीको भन्दा खासै फरक हुँदैन । जसको कारण व्यक्ति भ्रमित हुने गर्छन् । त्यसैले , लामो समयसम्म यस्तो लक्षण देखिएमा तुरुन्तै चिकित्सकसित सम्पर्क गर्नुपर्छ।

किनकी, लक्षण देखिएको अवस्थामा पनि यसको लक्षण व्यक्तिपिच्छे फरक हुनसक्छ । यसको लक्षण व्यक्तिको अवस्था, रोगको चरण तथा रोगको प्रकार अनुसार पनि फरक हुने गर्छ ।

त्यसैले पनि, यी मध्य कुनै एक वा अधिक लक्षण देखिएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ।

-आवाज बदलिए वा भारी भएमा

-घाँटीमा खसखस भएमा

-दाँत दुखेमा वा गिजा सुन्निएमा

घाँटीमा गाँठो महसुस हुनु

-मुखबाट खून निस्कनु

-निद्रा नलाग्नु

-थकान महसुस हुनु

-खाना चपाउन समस्या हुनु

-मुख भित्र रातो हुनु, सेतो वा गहिरो रङ्गको दाग देखिने

-सासबाट दुर्गन्ध महसुस हुने,

-कानमा अकारण दुख्ने

-कफ आउनु तथा खकारमा रगत देखिनु

-लगातार तौल कम हुनु

किन हुन्छ ?

धुमपान वा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुमा घाँटीको क्यान्सर हुने सम्भावना उच्च हुन्छ । धुमपानको अप्रत्यक्ष सम्पर्कमा आउनेहरुमा घाँटीको क्यान्सरको जोखिम उच्च हुन्छ।

महिलाहरुमा पनि यसको लक्षण देखिने गर्छ। सुर्तीजन्य पर्दाथको सेवनले स्वास नलीको कार्य प्रणालीमा विपरी प्रभाव पर्दछ। जसले गर्दा क्यान्सरको खतरा उच्च हुने गर्छ।

मदिराको साथमा धुमपान गर्नेहरुमा पनि मुखको क्यान्सरको खतरा उच्च हुने गर्छ । यसबाहेक, धुलोधुवा , प्रदुषण, काठको धुलो वा केमिकल्स डस्टका कारण पनि घाँटीको क्यान्सर हुने सम्भावना धेरै हुन्छ।

सल्फर डाइअक्साइड, क्रोमियम तथा आर्सेनिकले पनि घाँटीको क्यान्सरको जाखिम उच्च हुने गर्छ। पछिल्लो केही वर्षहरुमा धुमपान नगर्ने व्यक्तिहरुमा पनि मुख तथा घाँटीको क्यान्सरको लक्षण देखिएको छ।

सुर्ती बाहेक दाँतको उचित हेरचाह नगर्नुले पनि भविष्यमा यो समस्या निम्तिन सक्छ। त्यस्तै, भिटामिन ‘ए’ को कमी पनि यसको कारण हुनसक्छ । यसबाहेक, घाँटीको क्यान्सर हुनुमा अणुवंशिक कारण पनि प्रमुख हुन्छ।