तिजको गीतमा पेटीकोट डान्स (हेर्नुस भिडियो)

काठमाडौं । हरेक वर्षको तिजमा कुनै न कुनै गीत भाइरल वा विवादित बन्ने परम्परा जस्तै भइसक्यो । यसपाली पनि अछुतो नरहला जस्तो छ । सुशीला पाठकको स्वरमा तीन दिनअघि रिलिज भएको गीत ‘पापाकी परी’ ले तिजको माहोल तताउने लक्षण देखिएको हो ।

 

 

यो गीतको भिडियोमा करिश्मा ढकालको उन्मुक्त नृत्यले चर्चा बटुलिरहेको छ । एउटा दृष्यमा उनले पेटिकोट लगाएर नृत्य गरेकी छन्। गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको थियो ।विवाहका लागि केटो हेर्न आएपछि केटीको मनमा पैदा हुने उथलपुथललाई लिएर यो गीत सिर्जना गरिएको हो । शिव हमालका शब्दमा आशिष अविरलको संगीत यसमा छ ।

 

 

गीत जति मनोरञ्जनात्मक छ, म्युजिक भिडियाको बेग्लै आकर्षण छ । करिश्माको उन्मूक्त डान्स र हाउभाउको धेरैले प्रशंसा गरेका छन् ।गीतमा केहीले नकारात्मक कमेन्ट पनि गरेका छन् । गीतका केही शब्दहरु उछृङ्खल रहेको उनीहरुको तर्क छ । उछृङ्खल भनिएका शब्दहरु यस्ता छन्ः के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अञ्जान साथी । के गरौं के गरौं लौ संगी तँ भन्, तँलाई पो भनेँ त अरुलाई नभन् सम्झेरै गइसक्यो सातो बरिलै ।

 

 

यस गीतका गीतकार हमाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यसमिति सदस्य हुन्। लोदोहोरी प्रतिष्ठानले लोकसंगीतमा विकृति बढेको भन्दै यसलाई सुद्धिकरण गर्ने अभियान चलाइरहेको छ।यस्तो अभियानमा हमाल पनि सक्रिय छन् ।तर, उनैको गीतले उछृङ्खलता लाई बढावा दिएको आरोप कतिपयले लगाएका छन् । यही आरोपबाट आत्तिएका हमाल आफू आत्मालोचित बनेको भन्दै युट्यूव बाट गीत हटाउने कुरा गर्न थालेका छन् । यद्यपि, यो गीत त्यस्तो अपाच्य छैन । गीतमा आएका अधिकांश कमेन्टहरु सकारात्मक छन् । भिडियो हेर्न लिंकमा क्लिक गर्नुस