बालेनजी ढुक्कसँग काम गर्नुहोस महेशलाई कसरी लखेट्नु पर्छ हामीलाई राम्रोसँग थाहा छ : वाइसिएल अध्यक्ष सेर्पाली

माओवादी केन्द्र निकटको युवा संगठन वाइसिएल नेपालले काठमाडौंका मेयर बालेन्द्र साहलाई निडरतापूर्वक अगाडि बढ्न आग्रह गरेको छ । अनधिकृत रुपमा बनेका संचरनालाई हटाइरहेका मेयर साहमाथि राजनीतिक क्षेत्रबाटै धम्की आइरहेका बेला वाइसिएयले आफुले साथ दिने भन्दै निडरतापूर्वक अघि बढ्न भनेको हो ।

 

 

 

 

वाइसिएलका अध्यक्ष सुवोध शेर्पालीले सामाजिक सञ्जालमार्फत बालेनलाई कुनै खालको धाकधम्कीबाट पछि नहट्न आव्हान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “मेयर ज्यू अघि बढ्नुहोस्, आफ्नो वा पराई कोही नभनी सधैं जनता एवम् राज्यको भौतिक सम्पत्तिमाथि रजाइँ गर्न खोज्ने प्रवृत्तिका विरुद्ध जनमतको साथ लिएर लम्कनुहोस् ।”

अध्यक्ष शेर्पालीले शाहमाथि धम्की नदिन पनि चेतावनी दिएका छन् । उनले अगाडि भनेका छन्, “केही गर्छु भन्ने अठोट गरि जनताबाट स्वतन्त्र रुपमा निर्वाचित भएका यो व्यवस्थाभित्र फुलेका फुल निमोठ्ने खालको अभिव्यक्ति र धम्की कसैले नदिए हुन्छ, शक्तिको आडमा बसेर कानुन विपरीत मनपरी गर्ने छुट कसैलाई पनि छैन । हुनु पनि हुँदैन ।”

मेयर साहमाथि देखिने गरी एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका नेता महेश बस्नेतले धम्की दिँदै आएका छन् । अल्फाबिटाको अवैध संरचना हटाएपछि बस्नेत साहमाथि खनिएका थिए । बालेनलाई मानसिक रोगी भएको बताउँदै सुधार गृहमा समेत लाने बताएका छन् ।