
काठमाडौ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफ्नाे साथ र समर्थन रहेकाे स्पष्ट पारेकी छन्। मेयर बालेन्द्र साहको नेतृत्वमा चलिरहेको अभियानमा उपमेयरको अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि उनले स्पष्टीकरण दिएकी हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नाे स्पष्टीकरण सार्वजनिक गर्दै डंगाेलले अतिक्रमण हटाउने महानगरकाे अभियानमा आफ्नाे असहयाेग रहेकाे भनेर विभिन्न मिडियामा प्रकाशित समाचारमा सत्यता नरहेकाे बताएकी छन्। आफूलाई साेध्दै नसाेधी कपाेलकल्पित ढंगले समाचार प्रकाशन गरिएकाेमा उनले आपत्तिसमेत जनाएकी छन्।
सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुइँतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौंमहानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ।
त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो। म काठमाडौंमहानगरपालिकाको उपमेयरको हैसियतमा छु। त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु।