
काठमाडौं । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट पेचिलो बन्दै गएको छ । कतिपय विषयमा समझदारी भएपनि महत्वपूर्ण निर्वाचन क्षेत्रहरुमा दुई वा दुईभन्दा बढी दलको दाबी देखिएपछि कुरा मिल्न सकेको छैन ।
नेपाली काँग्रेसले कुल १६५ सिटमध्ये आधाभन्दा बढी दाबी छाडेको छैन । उसले २०७४ को चुनावमा माओवादीले जितेका, चुनाव जितेर नेकपा एस र जनता समाजवादी पार्टीमा रहेकाहरुको क्षेत्र समेत दाबी गरेपछि नयाँ घटनाक्रम विकास भएको छ ।
काँग्रेसलाई गलाउन प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले मोर्चाबन्दी गरेका छन् । उनीहरुले शुक्रबार छुट्टै बैठक समेत बसेर रणनीति तयार गरेका छन् । जसमा काँग्रेसलाई ८२ सिटभन्दा बढी दिन तयार नहुने, २०७४ को चुनाव जितेर आफूहरुसँग रहेका सांसदहरुको सिट नछाड्ने र छाडेपनि प्रभावशाली एक वा दुईलाई मात्र छाड्ने विषय छन् ।
विश्वस्त स्रोतका अनुसार यसअघि गठबन्धनका दलले जितेको क्षेत्रमध्ये रामचन्द्र पौडेलका लागि तनहुँ १ छाड्नेबाहेकमा माओवादी, नेकपा एस र जसपा तयार छैनन् । काठमाडौं २ छाड्न पनि माधव नेपाल पक्षधर सकारात्मक भएको बुझिएको छ । तर, उनले त्यसका लागि विभिन्न शर्त राखेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले एकथरी मानिसहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेका बताएका छन्।प्रचण्ड अस्थिरताको कारण हो भन्ने प्रचार गरिएको भन्दै सो प्रचार पनि प्राप्त राजनीतिक उपलब्धीहरु उल्ट्याउने षड्यन्त्रको रुपमा भएको टिप्पणी गरे।
उनले संविधानको संरक्षकबाट संविधान मिचिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति असन्तुष्टि जनाएका छन्। शुक्रवार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताए।
उनले संरक्षकबाट नै जानिबुझी संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धिहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको टिप्पणी गरे। उनले भने, ‘कुरा धेरै नै गहिरो छ। जुन प्रतिगमनको षड्यन्त्र गत सालदेखि सुरु भएको छ। त्यो रोकिएको छैन। त्यो नयाँ–नयाँ रुपमा फेरि अगाडि ल्याउने जमर्को भइराखेको छ।’
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे। विधेयक प्रमाणीकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उनको भनाइ छ। उनले प्रतिगमनको फणाहरु उठेको भन्दै परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताए।
प्रचण्डले थपे, ‘नागरिकता विधेयक जन्मसिद्ध नागरिक भएका आमा–बाबुका छोराछोरीहरुले नागरिकता प्राप्त गर्नुपर्छ भन्ने विधेयकलाई प्रमाणीकरण नगर्ने कसरतभित्र पनि यो संविधान र यो परिवर्तनलाई कहीँ न कहीँ यसमाथि प्रहार गर्ने नियोजित प्रयासहरु भइराखेका छन्।
सबै एकजुट भएर आवाज नउठाउने हो भने सडकमा नजाने हो भने प्रतिगमनका यी फणाहरु अहिले जो फेरि उठ्न थालेका छन्, त्यसले डस्नसक्छ परिवर्तनलाई। त्यसको रक्षाको लागि एकताबद्ध भएर अगाडि बढ्नु आजको लागि ज्वलन्त आवश्यकता हो।’