
कमेडियन अपूर्वक्षितिज सिंहलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ। उनको आज बयान लिइने काठमाडौं जिल्ला अदालतका प्रवक्ता दिपक दाहा लले जानकारी दिए।न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशमा उनको बयान लिइने उनले बताए।
यस्तै आजै थुनछेक बहस समेत हुनसक्ने प्रवक्ता दाहालले बताए।अहिले इजलाशले प्रतिवादीको बयान लिन्छ। त्यस पछि थुनछेक बहस हुन्छ,’ उनले भने,‘एक जनामात्रै प्रति वादी भएकाले थुनछेक बहस पनि आजै भएर आदेश आउने सम्भावना छ।’
कमेडियन अपूर्वक्षितिज सिंहले गरेको स्ट्यान्ड अप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै चार वटा शीर्षकमा प्रहरी कार्यालयमा जाहेरी परेको थियो।
उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर, दफा
१६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।यी मुद्दा सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अदालतमा दर्ता गरेको थियो।
तर अदालतले हेर्न नभ्याएपछि बिहीबार बयान लिन लागेको हो।सरकारी वकिलको कार्यालयले अपूर्वक्षिति जलाई एक देखि पाँच वर्षसम्मको सजाय माग गरेको छ।
दफा ६५ को उपदफा (१) बमोजिम कसुर गर्नेलाई एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने व्यवस्था छ। दफा १६५को उपदफा (२) बमोजिम कसूर गर्नेलाई एक वर्षसम्म कैद वा १० हजारसम्म वा दुबै सजाय हुनसक्ने व्यवस्था छ। दफा १६६ को उपदफा
(२) ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ। दफा १६८ को उपदफा (२)मा कसूर गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना गर्न सक्ने प्रावधान छ।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार उनीविरूद्ध बयान र सार्वजनिक भएको भिडिओलाई नै प्रमाणको रूपमा पेश गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्धको अनुसन्धान सकेर सोमबार कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदन बुझाउँदा अपूर्वलाई पनि उपस्थित गराइएको थियो। तारेखमा छुटेका उनलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले पुन: हिरासतमा लियो।
भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखिएको थियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो।
उनलाई सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाडिएको थियो।
कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड-अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो।
‘नेवारको परम्परा’ शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो।
त्यसपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफी मागेका थिए। यसमा माफी हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो। पछि फेरि उनीहरूले नै चौकीमा उपस्थित भएर अपूर्वले पाउनुपर्ने सजाय पाइसकेको भन्दै उनलाई छाड्न मौखिक अनुरोध गरेका थिए।