
काठमाडौँ । मोटोपन बढेको बढ्यै छ। चिकित्सकहरु भन्छन्, ‘मोटोपनले अनेक रोग पैदा गर्छ ।’ मोटोपन कसरी घटाउने त ?
यसका लागि कोही जिम धाइरहेका छन्, कोही दौडिरहेका छन्, कोही खानेकुरामा कटौती गरिरहेका छन्। व्यायामले त शरीरको समूचित विकासमा सहयोग गर्छ। शरीरलाई लचिलो, फुर्तिलो र स्वस्थ राख्छ। तर, खानेकुरा कटौतीले ?
नियमित खानेकुराको मात्रा अचानक घटाउँदा शरीरमा पोषक तत्व पर्याप्त नहुन सक्छ। किनभने हाम्रो शरीरलाई आवश्यक पोषक तत्व धेरैजसो खानेकुराबाट नै प्राप्त हुन्छ। जब मोटोपन घटाउने चक्करमा खानेकुरा खान छाड्छौं, पोषक तत्वको अभाव हुन थाल्छ।
तर, अहिले मोटोपन नियन्त्रण गर्न धेरैले छाक छाड्ने गरेका छन्। खानपानमा कटौती गरेपछि तौल नियन्त्रण हुन्छ भन्ने बुझाई समाजमा व्याप्त छ।
जबकि मोटोपन नियन्त्रण गर्नका लागि खानेकुरा नै छाड्ने होइन, बरु खानेकुराको छनौटमा ध्यान दिन जरुरी हुन्छ। भनिन्छ, भरपेट खाएर खाएर पनि शरीरको तौल सन्तुलित राख्न सकिन्छ।
यसमा एउटा सर्त छ।
त्यस्तै खानेकुरा खानुपर्छ, जो शरीरले माग्छ । मन र मुखले मागेको कुरा खान थाल्ने हो भने शरीरले धान्न सक्दैन । मनले माग्दैमा जतिपनि खानेकुरा, जे पनि खानेकुरा खाने होइन। खानेकुरा खाइरहँदा सोचौं कि, यो मेरो शरीरका लागि हो। खानेकुरा शरीरको लागि हो भने भरपेट खाएर पनि फरक पर्नेवाला छैन।
खानेकुरा स्वस्थ्यकर, पोषिलो हुनुपर्छ। सागपात, गेडागुडी, झोल आदिको सन्तुलन हुनुपर्छ । हाम्रो थालीमा सलादको मात्रा बढाउनुपर्छ। मौसम अनुसार काक्रा, मुला, गाँजर, चुकन्दर, बन्दा आदिको सलाद बनाउनुपर्छ।
त्यसो त उसिनेको आलु, अण्डा आदिको पनि सलाद बनाएर खान सकिन्छ। खानेकुरा तारेको, भुटेको भन्दा उसिनेको, बफ्याएको सर्वोत्तम हो। यस्ता खानेकुरा जति खाएपनि मोटोपन बढ्ने भय हुँदैन।
हरेक विहान नास्तामा सलाद खानुपर्छ। भरपेट सलाद खाएपछि भोक महसुष हुँदैन । भोक महसुष नभएपछि बजारका खानेकुरा, प्याकेटबन्द खानेकुरा आदिको तलतल लाग्दैन।
गाउँघरतिर गाई–बस्तुले सलाद खान्छ, शहरमा हामी जंकफूडले पेट भर्छौं। गाउँमा कांक्रा, फर्सी, इस्कुस, सागपात गाईलाई दिइन्छ। यता शहरियाहरु वेलामौकामा प्लेटभरी सलाद सजाएर खान्छन्। मुड चल्दा मात्र खाएर हुँदैन। नियमित रुपमा खानुपर्छ।
खानेकुरा सेवन गर्दा पोषक तत्वमा ध्यान दिन जरुरी छ। कुन खानेकुराबाट के पोषक तत्व मिल्छ भन्ने कुरा थाहा भयो भने त्यही अनुसारको खानेकुरा मिलाउन सकिन्छ। यसरी शरीरलाई आवश्यक पोषक तत्व मिलाएर खाना खाएमा शरीरमा अतिरिक्त बोसो जम्दैन। बोसो नजमेपछि मोटोपन बढ्ने कुरै हुँदैन।
ठोस खानेकुरा जति खाइन्छ त्यो भन्दा बढी पेय पदार्थ पिउनुपर्छ। जुस, सर्वत, दही, मोही, लस्सी, पानी पिउने गरौं। बजारमा पाइने तयारी जुस भन्दा ताजा जुस उपयुक्त हुन्छ। घरमै कागती पानी मिसाएर सर्वत पिउन सकिन्छ।
खानेकुरालाई बिस्तारै चपाएर, हतार नगरी, आनन्दसाथ खानुपर्छ। लामो समय खाली पेट बस्ने र एकसाथ धेरै खानेकुरा खानु हुन्न। थोरै थोरै तर धेरै पटक खानु राम्रो हो। यदि खानेकुराको सन्तुलन र शैली मिलाउने हो भने भरपेट खाएर पनि शरीरको तौल सन्तुलित राख्न सकिन्छ।