
बिश्वकपमा १२ हजार नेपाली श्रमिक लैजाने कतारको घोषणा, तोकियो तलब ?
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ ।
प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो । सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको छ ।
श्रमिक माग भएको जानकारी प्राप्त हुनासाथ दूतावासले श्रम मन्त्रालयलाई पत्र लेखेको थियो । मन्त्रालयले निर्णय गरिदिएसँगै दूतावासले छोटो अवधिका लागि श्रमिक लैजान इच्छुक रोजगारदाताले ल्याएका माग प्रमाणीकरण गर्ने भएको छ ।
सरकारले शून्य लागतमा श्रमिक लैजान सम्बन्धित कम्पनीलाई अनुमति दिनेछ । श्रमिकको दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्नुपर्ने छ ।
त्यस्ता श्रमिकले कतारमा काम गर्ने अवधि छ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनीबाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीका लागि जान खोज्नेले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।
कानूनअनुसार श्रम स्वीकृतिको अवधि दुई वर्षको हुने व्यवस्था भए पनि कम अवधिको कामको अवसर र भिसा आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने पनि कानूनी व्यवस्था रहेको सहसचिव पोखरेलले जानकारी दिनुभयो । नेपालबाट कतिको सङ्ख्यामा श्रमिक लैजाने र सेवा सुविधा कति पाउने भन्ने कुरा भने अहिले नै निश्चित भइसकेको छैन ।