स्वास्थ्यका लागि कस्तो मासु खाने ? मासुको स्वादसँग ख्याल राख्नैपर्छ यी कुरा

काठमाडौं । कस्तो रोगीले कस्तो मासु खाने र कस्तो मासु खानु हुन्न भन्नेबारे सबैलाई जानकारी नहुन पनि सक्छ। डा. भवानीले विशेष गरी माछामा पाइने ओमेगा ३ फ्याटी एसिड हाम्रो मुटुको लागि राम्रो हुने बताइन् । तर, माछा धेरै फ्राई गरेर खानु फाइदा जनक नहुने बताउँछिन् । उनले मुटुरोगीहरुले अन्य मासु भन्दा माछा खानु फाइदाजनक हुने बताइन्।

यस्तै कुखुराको मासुमा अन्य मासुमा भन्दा कम स्याटुरेटेड फ्याट हुन्छ । त्यसैले रातो मासु भन्दा कुखुराको मासुले मुटु रोग निम्त्याउन नदिने हुँदा कुखुराको मासु खानु फाइदा जनक हुने डा. भवानी बताउँछिन्।

रातो मासु भन्नाले खसी, राँगा, बंगुर आदिका मासु हुन् । यी मासुहरुमा बढी मात्रामा बोसो हुने गर्छ ।

रातो मासुले कसरी बिमारी निम्त्याउँछ ?

रातो मासु बढी खानाले उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्ने, मधुमेह हुने, मुटुको धमनीहरु साधुरो हुने, हृदयघात, पक्षघात लगायतका समस्या निम्तिन सक्ने डा भवानी बताउँछिन्।

रातो मासु खाँदा हाम्रो पेटमा भएका जीवाणुहरुले रातो मासुबाट कारनिटिन भन्ने तत्वको उत्पादन गर्दछ । कारनिटिनले मुटु तथा अन्य धमनीहरुलाई साह्रो र साघुरो बनाउछ ।

मासु कसरी खाने ?

कुनैपनि मासु खाँदा त्यसको छाला मुनि बोसो हुने भएकाले जहिलेपनि माछा मासु खाँदा त्यसको छाला निकालेर पकाएर खानु उचित हुने डा. भवानी बताउँछिन्।

मासु पकाउँदा धेरै तेल तथा नुन प्रयोग नगरी पकाउन उनको सुझाव छ। सकेसम्म रातो मासुको सेवन नगर्नु नै स्वास्थ्यका लागि फाइदा जनक हुने उनी बताउँछिन्।

यस्तै मासु पोलेर खाँदा यसले क्यान्सरको जोखिम बढाउने हुँदा कुनैपनि मासु पोलेर नखान डा. भवानी सल्लाह दिन्छिन् । ताजा मासु भन्दा केमिकल भएको मासुले अझ मुटुको रोग बढाउने उनको भनाई छ।