
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही दलहरूले आफ्नो अस्तित्व जोगाउन गठबन्धनको सहारा लिइरहेको टिप्पणी गरेका छन्।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले निर्वाचनमा एक्लै जाने हिम्मत कसैको नरहेको भन्दै आफ्नो अस्तित्व जोगाउन गठबन्धनको सहारा लिइरहको बताए।
प्रचण्ड र माधव नेपालहरू कांग्रेस नामको बञ्चरोको बिँड भएको र उनीहरूको कुनै अस्तित्व नै नरहेको ओलीको भनाइ छ। उनले एमालेलाई समाप्त पारेर कांग्रेसलाई पहिलो बनाएर आफू दोस्रो हुनका लागि उनीहरू कांग्रेसको पछि हिँडेको बताए।
कांग्रेसका पछाडि लागेर समाजवाद नहुने भन्दै ओलीले समाजवादी पार्टी नाम राखेर जनतालाई झुक्काउने काम भएको बताए।
उनले गठबन्धन नामको ग्याङले देश लुटिरहेकाले अब निर्वाचनमा एमालेको सरकार बन्नुपर्ने बताए।
आफू सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुने भएपनि अहिले अहिलको सरकारले जहाँ छोयो त्यहाँ खरानी पारेको उनको भनाइ छ। ओलीले परमादेशबाट आएको गठबन्धनले जनादेश पायो भने झनै देशमा अझै विनाश हुने जिकिर गरे।
आगामी निर्वाचनमा देशलाई बचाउनका लागि एमालेको बहुमत आवश्यक रहेको उनको भनाइ छ